Archives

now browsing by author

 
Posted by: | Posted on: January 18, 2022

साधारण सभाको समिक्षा बैठक सम्पन्न

कीर्तिपुर (माघ ४)
त्रिवि एलुम्नाई एशोसिएशन नेपालको मिति २०७८ पौष २१ गते सम्पन्न तेस्रो साधारण सभाको समिक्षा बैठक आज मिति २०७८ माघ ४ गते मंगलवारका दिन सम्पन्न भएको छ । कार्यक्रमको सकारात्मक पक्षहरुलाई समिक्षा गर्दै सुधार गर्नुपर्ने पक्षहरुमा पृष्ठपोषण आदानप्रदान गरिएको थियो । साधारण सभा सफलतापुर्वक सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्ने र उपस्थित सहभागी सम्पूर्ण आजीवन सदस्यहरुलाई समेत धन्यवाद व्यक्त गर्ने निर्णय गरिएको छ । साथै आगामी दिनमा सञ्चालन गर्ने भावि कार्ययोजनाबारे समेत छलफल गरिएको छ । संस्थाको सदस्यता विस्तार, कार्यालय व्यवस्थापन र मानार्थ सदस्यता प्रदान गर्ने कार्यविधि तय गर्नेबारे समेत बैठकमा छलफल भएको छ ।

 

Posted by: | Posted on: January 5, 2022

त्रिवि एलुम्नाई एशोसिएशन नेपालको तेस्रो साधारण सभा सम्पन्न

काठमाडौ, २१ पौष
त्रिवि एलुम्नाई एशोसिएशन नेपालको तेस्रो वार्षिक साधारण सभा आज पद्मकन्या क्याम्पसको सभाहलमा सफलतापुवर्क सम्पन्न भएको छ । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपतिहरुले उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि आलोचनात्मक दृष्टिकोण आवश्यक रहेको बताउनु भएको छ । विश्वविद्यालयमा मौलाउँदै गएको विकृति, विसंगतिविरुद्ध प्राज्ञहरुले औंला ठड्याउने र खबरदारी गर्ने संगठित संस्थाको रुपमा त्रिवि एलुम्नाई एशोसिएशनले काम गर्न सक्नुपर्ने धारणा उहाँहरुले व्यक्त गर्नुभयो । उहाँहरुले त्रिवि एलुम्नाई एशोसिएशन प्राज्ञ व्यक्तिहरु मिल्न सक्ने साझा संस्था बन्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।
तेस्रो वार्षिक साधारण सभालाई  सम्बोधन गर्दै पूर्व उपकुलपति प्राध्यापक महेश उपाध्याय, केदारभक्त माथेमा र प्रा.डा. तीर्थराज खनियाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो । पूर्व उपकुलपति प्राध्यापक उपाध्यायले एलुम्नाई एशोसिएशन विश्वविद्यालयको सहयोगी संस्थाको रुपमा अगाडि बढ्नुपर्ने र सक्रियता बढाएर प्राज्ञहरुलाई संगठित गर्नुपर्ने बताउनु भयो । धेरै प्राज्ञहरुले छलफल र बहसको लागि फोरम खोजिरहेको अवस्थामा त्रिवि एलुम्नाइ एशोसिएशनले खेर गइरहेको ज्ञानको भण्डारलाई बहसको विषय बनाउनुपर्ने सुझाव दिनुभएको छ ।
एलुम्नाई एशोसिएशनलाई वर्तमान पदाधिकारीहरुले पनि सकारात्मक रुपमा लिई सहयोग लिन सक्नु पर्ने उहाँहरुले बताउनु भयो । महामारीका कारण विश्वमा शैक्षिक प्रणाली नै परिवर्तन भइरहेको सन्दर्भमा त्रिविभित्र अनलाईन शिक्षणको बारेमा व्यापक रुपमा शैक्षिक बहस गराउनु पर्ने आजको आवश्यकता रहेको उहाँहरुले औंल्याउनु भयो ।
कार्यक्रममा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले नीजि क्षेत्रको तर्फबाट विश्वविद्यालयलाई सहयोग गर्न तयार रहेको बताउनु भयो । संस्थाका आजीवन सदस्य खुमा शर्मा धिताल र पद्मकन्या क्याम्पसका क्याम्पस प्रमुख धनप्रसाद पण्डितले अनुसन्धानमा केन्द्रीत भएर गतिविधि गर्न सुझाव दिँदै एलुम्नाई संस्थाको महत्वबारे चर्चा गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष प्रा.डा. सूनीति श्रेष्ठ हाडाले संस्थालाई अगाडि बढाउन सबैको सकारात्मक साथ सहयोग चाहिने बताउनु भयो । आगामी दिनमा त्रिविका विभिन्न क्षेत्रका एलुम्नाईहरुलाई समेटेर अगाडि बढ्न चाहेको हुँदा सबैबाट रचनात्मक सुझावको अपेक्षा गरेको अध्यक्ष हाडाले उल्लेख गर्नुभयो ।
कार्यक्रममा संस्थाका महासचिव प्रा.डा. ऋदिशकुमार पोख्रेलले वार्षिक प्रतिवेदन र र कोषाध्यक्ष डा. कुश्मिला आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उपाध्यक्ष प्रा.डा. सुदर्शनराज तिवारीले सहभागीहरुलाई मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सचिवालयका तर्फबाट नोदनाथ त्रितालले गर्नुभएको थियो । वि.सं. २०७४ सालमा स्थापना भएको यस एलुम्नाइ एशोसिएशन नेपालमा हालसम्म संस्थामा दुई सय असीभन्दा बढी आजीवन सदस्यहरु आबद्ध रहेका छन् ।

Posted by: | Posted on: January 1, 2022

अमेरिकाबाट संस्थालाई दश हजार सहयोग

कीर्तिपुर (१६ पौष)
कोभिड महामारीको विषय परिस्थितिमा पनि विश्वमै धेरै रक्तदान गरी विश्व रेडर्क कायम गर्न सफल त्रिवि एलुम्नाई अर्जुनप्रसाद मैनालीले न्यूयोर्क, अमेरिकाबाट संस्थालाई दश हजार सहयोग गर्नुभएको छ ।
त्रिवि एलुम्नाई एशोसिएशन नेपालको तेस्रो साधारण सभाको पुर्व सन्ध्यामा भक्तपुर सूर्यविनायक निवासी मैनालीले आजीवन सदस्यता शुल्कसहित सो रकम सहयोग गर्नुभएको हो । संस्थाले आर्थिक सहयोग गर्ने एलुम्नाईहरुलाई स्वतः आजीवन सदस्यता प्रदान गर्दै सम्मान गर्दै आएको छ ।

डिसेम्बर २२ लाइ वेयष्टर बे टाउन, न्यूयोर्कले विश्व रक्तदाता अर्जुन मैनाली दिवस  World Blood Donor Arjun Mainali Day  घोषणा गरेको छ।
अर्जुनप्रसाद मैनालीले ६ वटै महादेशका १७ देशमा गएर २०० पटक (करिव १ लाख मिलिलिटर) रगत दान गरेका छन। उनको आफ्नै रगतले मात्रै करिव ६०० जनासम्मलाइ बचाउन सहयोग हुन्छ।
संसारमा डिसेम्बर २२, १८१८ मा पहिलो पटक सफल रक्तसन्चार गरेको अभिलेख भएको छ। उक्त दिनको स्मरण गर्दै रक्तदानमा उल्लेखनीय काम गरेको भन्दै वेयष्टर बे टाउनले अर्जुन मैनालीको नाममा विश्व रक्तदाता दिवस घोषणा गरेको हो।
Posted by: | Posted on: January 1, 2022

त्रिवि एलुम्नाई एशोसिएशनको वार्षिक साधारण सभा आव्हान

कीर्तिपुर (१६ पौष)
त्रिवि एलुम्नाई एशोसिएशन, नेपालको तेस्रो वार्षिक साधारण सभा आगामी पौष २१ गते बुधवार कीर्तिपुरमा आयोजना हुने भएको छ । एशोसिएशनका महासचिव प्रा.डा. ऋदिशकुमार पोखरेलले आजीवन सदस्यहरुलाई साधारण सभामा सक्रिय सहभागिता जनाउन आव्हान गर्नुभएको छ । हालसम्म गरेका संस्थाका गतिविधिहरु समेत इमेलमार्फत जानकारी गराउँदै पोख्रेलले आगामी साधारण सभामा सहभागिताका लागि अनुरोध गर्नुभएको हो ।
वि.सं. २०७४ सालमा स्थापना गरिएको त्रिवि एलुम्नाई एशोसिएशनको आजीवन सदस्य संख्या हाल २ सय ७२ जना रहेको छ । देश विदेशमा हुनु हुने त्रिभुवन विश्वविद्यालयका पूर्व विद्यार्थीहरुलाई संस्थामा आबद्ध भई विश्वविद्यालयको गतिविधिबारे जानकारी लिन र विश्वविद्यालयलाई सक्दो योगदान दिन महासचिव पोख्रेलले अपिल समेत गर्नुभएको छ । संस्थाको आजीवन सदस्यता शुल्क एक हजार तोकिएको छ भने अनलाइन आवेदनमार्फत आजीवन सदस्यता प्राप्त गर्न सकिने संस्थाले जनाएको छ । संस्थामा हाल प्रा.डा. सूनीति श्रेष्ठ हाडाको अध्यक्षतामा २७ जनाको निर्वाचित कार्य समिति रहेको छ । कार्यसमितिको कार्यकाल चार वर्षको हुने संस्थाको निर्देशिकामा उल्लेख गरिएको बताइएको छ ।
त्रिवि एलुम्नाई एशोसिएशन नेपालको आजीवन सदस्य बन्न यो लिँकमा क्लिक गर्नुहोस्

यो लिँकमा क्लिक गर्नुहोस्

 

Posted by: | Posted on: January 1, 2022

आजीवन सदस्यताको लागि अनलाइन आवेदन भर्न सकिने

यस संस्थाको तेस्रो वार्षिक साधारण सभा आगामी पौष २१ गते (५ जनवरी २०२२) मा पद्मकन्या क्याम्पसको सभाहलमा हुन गइरहेको हुँदा आजीवन सदस्यता प्राप्त गर्न र साधारण सभामा सहभागी हुन चाहने त्रिवि एलुम्नाईहरुलाई तलको लिँकमा क्लिक गरी सदस्यता फारम भर्नुहुन अनुरोध छ । सदस्यता शुल्क समेत अनलाइनबाटै तिर्न सक्ने व्यवस्था गरिएको छ ।

अनलाइन लिँक

 

Posted by: | Posted on: January 1, 2022

तेस्रो वार्षिक साधारण सभामा सहभागीताका लागि निमन्त्रणा पत्र

श्री सम्पूर्ण आजीवन सदस्यज्यूहरु
त्रिवि एलुम्नाई एशोसिएशन नेपाल

यस संस्थाको तेस्रो वार्षिक साधारण सभा तपसिल बमोजिम मिति, स्थान र समयमा आयोजना गर्ने निर्णय भएको हुँदा यहाँहरुको अनिवार्य उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दछौं ः
तपसिल ः
मिति ः २०७८ पौष २१ गते (५ जनवरी २०२२)
स्थान ः डेनिस हल, मैत्री भवन, पद्मकन्या क्याम्पस, बागबजार ।
समय ः दिनको १२ः०५ बजेदेखि २ः०० बजेसम्म ।
आजीवन सदस्य बनेर साधारण सभामा सहभागिता जनाउन इच्छुक अन्य महानुभावहरुलाई अनलाइनमार्फत आवेदन फारम भर्न र साधारण सभामा सहभागी हुन सकिने हुँदा सोको जानकारी समेत गराई दिनुहुन अनुरोध गरिन्छ ।

Posted by: | Posted on: March 10, 2021

त्रिवि एलुम्नाई एशोसिएशनको दोस्रो साधारण सभा सम्पन्न

कीर्तिपुर, २१ पौष २०७७
त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको दोस्रो साधारण सभा आज एक कार्यक्रमका बीच जुममार्फत भर्चुअल रुपमा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन सत्रको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाले त्रिविलाई अन्तर्राष्टिय स्तरमा उत्कृष्ट विश्वविद्यालयको रुपमा परिचित गराउन एलुम्नाई एशोसिएशनसंगको सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सरकारसंग अनुसन्धानको क्षेत्रमा विश्वविद्यालयले सहकार्यको प्रस्ताव अगाडि सारेको जानकारी गराउनुहुँदै उहाँले एलुम्नाई एशोसिएशनमार्फत आगामी दिनमा अनुसन्धानको क्षेत्रमा कार्य गर्ने र एलुम्नाई एशोसिएशनलाई त्रिवि नेतृत्वको हैषियतले गर्नुपर्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको पनि बताउनु भयो ।

यस्तैगरी कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै विश्वविद्यालयलाई एलुम्नाई एशोसिएशनको महत्व र भुमिकाका बारेमा पूर्व उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले प्रकाशन पार्नुभएको थियो । पूर्व उपकुलपतिहरु प्रा.डा. नविनप्रकाशजंग शाह र प्रा.डा. कमलकृष्ण जोशीले पनि शुभकामना मन्तव्यमा एलुम्नाई एशोसिएशनमार्फत त्रिविले थुप्रै रचनात्मक कार्यहरु गर्न सक्ने बताउनु भयो ।

कार्यक्रममा मिडिया क्षेत्रबाट मदन लम्साल, नीजि क्षेत्रबाट गीता क्षेत्री, औद्योगिक क्षेत्रबाट प्रदिपकुमार श्रेष्ठ, प्राज्ञिक क्षेत्रबाट प्रा.डा. जगदिशप्रसाद अग्रवाल, पूर्व निजामति क्षेत्रबाट दिपेन्द्रपुरुष ढकाल र कृष्णहरी बास्कोटा लगायतले एलुम्नाई एशोसिएशनमार्फत विश्वविद्यालयप्रति भावनात्मक एकताको विकास गर्न सकिने, विश्वविद्यालयलाई अरु क्षेत्रले अनुशरण गर्न सक्ने उदाहरणीय प्राज्ञिक निकायको रुपमा विकास गर्न सकिने धारणा राख्नुभएको थियो । वक्ताहरुले विश्वविद्यालयको उन्नयनमा एलुम्नाईहरुको महत्वपूर्ण भुमिका रहन सक्ने र त्यसको लागि संस्थाले कार्ययोजनासहित आफ्ना क्रियाकलापहरुलाई अगाडि बढाउनुपर्ने सुझाव दिनुभएको थियो ।

साधारण सभाको दोस्रो सत्रमा एशोसिएशनका महासचिव प्रा.डा. ऋदिशकुमार पोख्रेलले वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष डा. कुश्मिला आचार्यले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।साधारण सभाले वार्षिक प्रतिवेदन र आर्थिक प्रतिवेदन स्वीकृत गरेको छ । साधारण सभाको अध्यक्षता संस्थाका अध्यक्ष प्रा.डा. सुनीति श्रेष्ठ हाडाले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण संस्थाका आजीवन सदस्य नोदनाथ त्रितालले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रा.डा. सुदर्शनराज तिवारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यकारी सदस्य प्रा.डा. रामप्रसाद खतिवडाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

त्रिवि कार्यकारी परिषद्को २०७४ मंसीर १२ गतेको बैठकको निर्णयबाट जारी त्रिवि एलुम्नाई एशोसिएशन नेपालको निर्देशिका २०७४ बमोजिम त्रिवि एलुम्नाई एशोसिएशन नेपाल क्रियाशिल रहेको छ । हाल यस संस्थामा दुई सय पचपन्न भन्दा बढि आजीवन सदस्यहरु आबद्ध रहनुभएको छ ।