त्रिविको विकासमा एलुम्नाईहरुबीच सहकार्य गर्ने प्रतिबद्धता

Posted by: | Posted on: January 7, 2024

पौष २१, काठमाडौ
त्रिभुवन विश्वविद्यालय एलुम्नाइ एशोशिएशनलाई सबैले सहयोग गरी त्रिविको संस्थागत विकासमा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । गत वर्ष साधारण सभाबाट कार्यसमिति निर्वाचित भएको एक वर्ष पुरा भएको अवसरमा एलुम्नाइ एशोशिएशनले शनिवार आयोजना गरेको नेटवर्किङ्ग डिनर कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
त्रिविका पूर्व उपकुलपति केदारभक्त माथेमाले अहिले त्रिविको संस्थागत विकासमा सरकार, विश्वविद्यालय र एलुम्नाइहरुले सहकार्य गर्नुपर्ने अवस्था आएको बताउनु भयो । विश्वमै उच्च शिक्षालाई गैरराजनीतिक बनाउने चलन रहेपनि नेपालमा फरक रहेको उहाँले बताउनु भयो । अहिले जनस्तरबाट उच्च शिक्षा संस्थाहरुमा अति राजनीतिक भएको कुरा उठ्न थालेको बताउनुहुँदै उहाँले सुलभ उच्च शिक्षा पाउने त्रिवि हाम्रो धरोहर संस्था भएकोले यसलाई संरक्षण र प्रवद्र्धन गर्नुपर्ने दायित्व हामीहरुमै रहेको धारणा व्यक्त गर्नुभयो । एलुम्नाई एशोसिएशन संस्थालाई नागरिक समाज संस्थाहरु जस्तै विशुद्ध गैरराजनीतिक संस्थाको रुपमा अगाडि बढाउन सके त्रिविको सुधारमा यो संस्थाले महत्वपूर्ण भुमिका खेल्न सक्ने बताउनु भयो । उहाँले सञ्जाल विस्तार गरी विदेशमा पनि नेटवर्क स्थापित गर्न र एलुम्नाइहरुको पहिचान गर्न आग्रह गर्नुभयो ।

संस्थाका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले सबैको साथ सहयोगमा संस्थालाई अगाडि बढाउने बताउनु हुँदै बीउ पुँजीको रुपमा आफुले एक लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यस्तै नेपालको नीजि क्षेत्रको जलविद्युत विकास तथा निर्माणको क्षेत्रमा क्रियाशिल उद्यमी गुरु न्यौपानेले समेत संस्थाको कोषमा एक लाख सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

यसैगरी अमेरिकामा बस्दै आउनु भएका त्रिवि एलुम्नाइ प्रभात दीक्षितले दुनियाँमा जताततै राजनीति हुने गरेको भए पनि नेपालको राजनीति अलिक फरक रहेको अनुभुति आफुहरुलाई हुने गरेको बताउनु भयो । अमेरिकाका महत्वपूर्ण विश्वविद्यालयहरुमा नेपाली प्राध्यापकहरु कार्यरत रहेको र ती त्रिविकै अलुम्नाई रहेको हुँदा त्रिविको ख्याती विदेशी भुमिमा अत्यन्त गर्वगर्न लायक रहेको बताउनु भयो । उहाँले आफुहरु विदेशी भुमिमा रहँदा नेपालका विश्वविद्यालयहरुमा किन राजनीतिकरण हुने गरेको भनेर चिन्ता गर्ने गरेको, त्रिविप्रति सधैं माया गर्ने गरेको र त्रिविको एलुम्नाइ भएकोमा गर्व महशुष हुने गरेको पनि बताउनु भयो । उहाँले विश्वविद्यालयहरुलाई अनुसन्धानमा केन्द्रीत हुन सुझाव समेत दिनुभयो ।

पूर्व राज्यमन्त्री उमेश श्रेष्ठले त्रिविको विकासमा सस्थागत सहकार्य जरुरी रहेको औंल्याउँदै त्रिविको विकास सिँगो देशको उच्च शिक्षाको विकाससँग जोडिएकोले यसमा एलुम्नाई एशोसिएशनमार्फत संस्थागत सहकार्य गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले नयाँ सोच, नयाँ विधि र नयाँ मोडबाट विश्वविद्यालय बचाउनु पर्ने, त्रिवि भनेको एउटा इतिहास भएकोले हामीले नै जोगाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।  उहाँले एशोसिएशनलाई संस्थागत विकासमा सहयोग गर्न एक लाख रुपैया प्रदान गर्ने घोषणा गर्नुभयो ।


यसैगरी त्रिविका पूर्व उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले त्रिविले उच्च शिक्षाको महत्वपूर्ण हिस्सा ओगटेर देशमा लाखौं एलुम्नाईहरु उत्पादन गरेको बताउनु हुँदै अब त्रिविको उन्नयनको लागि एलुम्नाईमार्फत सहकार्य हुन जरुरी रहेको बताउनु भयो । संसारमा ठुला ठुला आविश्कार गर्ने मान्छेमा त्यो सीप र बुद्धि सिर्जना गर्ने संस्था विश्वविद्यालय हुन्, त्यसैले सबै मिलेर विश्वविद्यालयको संरक्षण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । विश्वमै एलुम्नाई संस्थाहरुले विश्वविद्यालयहरुको विकासमा ठुला ठुला योगदान गरिरहेको बताउनुहुँदै उहाँले त्रिविले एलुम्नाई संस्थाको उपयोग गर्न नसकेकोले पछि परिरहेको बताउनु भयो । उहाँले संसदमा अधिकाँश त्रिवि एलुम्नाईहरु रहेर पनि त्रिविकै अहितमा निर्णय हुने तर त्रिविले त्यसमा प्रतिरक्षा गर्न नसकिरहेको धारणा व्यक्त गर्नुभयो ।

राष्ट्रिय सूचना आयोगका पूर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले एलुम्नाईमार्फत विश्वविद्यालयको चौतर्फी विकासमा योगदान गर्न सकिने हुँदा यस्तो सञ्जालीकरण कार्यक्रम एउटा महत्वपूर्ण शुरुवात भएको बताउनु भयो । साथै संस्थागत विकासमा एलुम्नाईको माध्यमबाट सहकार्य गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीले शिक्षा नभई स्वास्थ्य चेतना नहुने हुँदा शिक्षामा लगानी गर्न सहकार्य गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित विभिन्न क्षेत्र र व्यवसायमा संलग्न व्यक्तित्वहरुले संस्थागत सहकार्यको प्रतिबद्धता व्यक्त गर्दै आर्थिक सहयोग गर्ने घोषणा गर्नुभएको थियो । संस्थाका निवर्तमान अध्यक्ष प्राडा सुनीति श्रेष्ठ हाडा, उपाध्यक्ष प्रा.डा ऋदिशकुमार पोख्रेल र कोषाध्यक्ष डा. कुश्मिला आचार्यले अतिथिहरुलाई खादा र पीन लगाएर सम्मान गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका महासचिव डा. धीरज प्रधानाङ्गले गर्नुभएको थियो भने कार्यक्रमको औचित्य र उद्देश्यमाथि प्रकाश पार्दै सहजीकरण संस्थाका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले गर्नुभएको थियो । कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।


Notice for TU Alumni Networking Dinner Program

Posted by: | Posted on: January 4, 2024

Attention all TUAAN Networking Members,
We’re excited to see you at the upcoming TU Alumni Association Nepal Fund-raising and Networking Dinner program in 5th January 2024 on the occassion of giving day for TUAAN. For the details, please write us via email in the email address: tuaan@tu.edu.np

We look forward to welcoming you to the event!


एलुम्नाई एशोसिएशनका कार्यकारी सदस्यलाई मातृ शोक

Posted by: | Posted on: December 16, 2023

मंसीर २९, काठमाडौ

त्रि.वि. एलुम्नाई एशोसिएशन नेपालका कार्यकारी समिति सदस्य प्रा.डा. सन्तोष रायमाझीज्यूकी आमा स्व. नोद कुमारी रायमाझीको यहि मिति २०८० मंसीर २४ गते  निधनमा भएकोमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । यस दुखद् घडीमा स्वर्गीय आमाको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्दछौं ।


एलुम्नाई दिवस (Alumni Day) मा सञ्जाल विस्तार

Posted by: | Posted on: November 28, 2023

त्रिभुवन विश्वविद्यालय एलुम्नाई एशोसिएशन नेपालको छैटौं वार्षिकोत्सव सञ्जाल निर्माण कार्यक्रम आयोजना गरी सम्पन्न भएको छ । त्रिवि कार्यकारी परिषद्ले २०७४ मंसीर १२ गते एलुम्नाई एशोसिएशन निर्देशिका जारी गरेपछि संस्थाको स्थापना भएको थियो । हरेक वर्ष उक्त दिनलाई संस्थाले त्रिविको एलुम्नाई दिवसको रुपमा मनाउन शुरुवात गरेको हो ।


त्रिवि विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको घडि भवन परिसरमा आयोजित कार्यक्रममा त्रिविका पूर्व उपकुलपति प्रा.डा. तीर्थराज खनियाँले कुनै पनि संस्था स्थापना भएपछि त्यसले उद्देश्य प्राप्तिमा अविच्छिन्न रुपमा निरन्तरता पाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । आफु अध्ययन गरेको विश्वविद्यालयको सर्वाङ्गिण पक्षमा विश्वभर नै अपनत्व कायम गर्दै एलुम्नाईहरुले योगदान गर्दै आएको बताउनुहुँदै उहाँले त्रिभुवन विश्वविद्यालयमा पनि देश विदेशमा रहनु हुने एलुम्नाईहरुले आवश्यकता पहिचान गरी योगदान गर्न सक्नुपर्ने बताउनु भयो । एलुम्नाईहरुको तर्फबाट विश्वविद्यालयमा संस्थागत योगदान गर्न सकियोस् भनेर एलुम्नाई संस्थाको स्थापना भएको बताउनु हुँदै उहाँले संस्थाको माध्यमबाट त्रिविलाई भौतिक, आर्थिक, शैक्षिक एवम् पूर्वाधारको क्षेत्रमा योगदान गर्न सकिने धारणा व्यक्त गर्नु भयो । कार्यक्रममा संस्थाका कार्य समिति सदस्यहरु खुमा धिताल, नारायण जोशी, भोलानाथ ढकाल, प्रा.डा. चन्द्रलाल श्रेष्ठ, इन्द्रेश ठाकुर, आजीवन सदस्यहरु विष्णुकुमार कार्की, विकास ढकाल, मन माया तामाङ, नोदनाथ त्रिताल लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा उपस्थित भई सदस्यता प्राप्त गर्न इच्छुक पूर्व विद्यार्थीहरुलाई संस्थाको आजीवन सदस्यता वितरण गरिएको थियो ।

यसै सन्दर्भमा संस्थाका अध्यक्ष प्रदिपकुमार श्रेष्ठ र महासचिव डा. धिरज प्रधानाङ्गले सो अवसरमा सम्पूर्ण आजीवन सदस्यहरुलाई शुभकामना सन्देश जारी गर्दै संस्थागत योगदानका लागि सञ्जालमा आबद्ध भई सहयोग र सहकार्य गर्न अपिल गर्नुभएको छ ।


एलुम्नाई दिवसको कार्यक्रम सम्बन्धमा

Posted by: | Posted on: November 27, 2023

मंसीर ११, २०८०

त्रिवि एलुम्नाई स्थापना भएको दिन मंसीर १२ गतेलाई एलुम्नाई दिवसको रुपमा मनाउन यहि मंसीर १२ गते मंगलवारका दिन अपरान्ह १ः०० बजेदेखि ३ः०० बजेसम्म त्रिवि परिसर कीर्तिपुरमा विश्वविद्यालय क्याम्पसको मानविकी संकायको पठनपाठन हुने घडी भवन अगाडि सञ्जाल निर्माणका लागि सूचना डेस्क स्थापना गरी कार्यक्रम गरिने भएको हुँदा इच्छुक महानुभावहरुलाई कार्यक्रममा सहभागिताको लागि हार्दिक निमन्त्रण गरिन्छ ।

छैटौं वार्षिकोत्सवको शुभकामना
त्रिवि एलुम्नाई एशोसिएशन नेपाल स्थापनाको छैटौं वर्ष पुरा भएको अवसरमा सम्पूर्ण त्रिवि एलुम्नाई महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दैछौं ।


उपकुलपतिलाई धन्यवाद ज्ञापन

Posted by: | Posted on: October 31, 2023

कीर्तिपुर, १४ कार्तिक

त्रिवि एलु्म्नाई एशोसिएशन नेपालको टोलीले त्रिविका उपकुलपति एवम् संस्थाका संरक्षक प्रा.डा. धर्मकान्त बास्कोटाज्यूलाई भेट गरी उहाँको कार्यकालमा संस्थालाई गर्नुभएको सहयोगप्रति आज उहाँकै कार्यकक्षमा धन्यवाद ज्ञापन गरेको छ ।

भेटको अवसरमा संस्थाका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले उपकुलपतिज्यूलाई सस्थाको लोगो र टोकन अफ एप्रिशिएशन हस्तान्तरण गर्नुभएको थियो । साथै संस्थाका सदस्य नारायण जोशीले धन्यवाद पत्र पढेर सुनाउनु भएको थियो । उपकुलपतिज्यूले भेटको क्रममा संस्थाले एलुम्नाइहरुमाझ त्रिवि प्रति सकारात्मक भावना पैदा गर्न निरन्तर क्रियाशिल हुन र राष्ट्रिय अन्तर्राष्ट्रियस्तरमा ज्ञान आदानप्रदानमा सहकार्य गर्न सुझाव दिनुभएको थियो ।

सोहि अवसरमा संस्थाका अध्यक्ष श्रेष्ठले त्रिविका रजिष्ट्रार प्राडा पेशल दाहाल र विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राडा ध्यानेन्द्र बहादुर राईलाई समेत त्रिवि एलुम्नाईको लोगो लगाई दिनुभएको थियो ।

भेटघाट कार्यक्रममा संस्थाका महासचिव डा. धीरज प्रधानाङ्ग, सदस्यहरु प्राडा नारायण चापागाईं, नारायण जोशी, भोलानाथ ढकाल, सीता कुमारी खनाल र नोदनाथ त्रिताल लगायतको उपस्थिति रहेको थियो ।

 


त्रिवि एलुम्नाई एशोसिएशनको सञ्जाल विस्तार अभियान

Posted by: | Posted on: October 9, 2023

कीर्तिपुर, २४ असोज
त्रिवि एलुम्नाई एसोसिएशन नेपालले सदस्यता वितरणका लागि सञ्जाल विस्तार अभियान सञ्चालन गरेको छ । त्रिवि विज्ञान प्रविधि अध्ययन संस्थान डीनको कार्यालयले कीर्तिपुरमा यहि असोज २२ र २३ गते आयोजना गरेको पिएच.डी. फेस्टिवल कार्यक्रममा उपस्थित सहभागीहरुमाझ एलुम्नाई एशोसिएशनको सूचना डेस्क स्थापना गरी सदस्यता एवम् सञ्जाल विस्तार अभियान गरेको हो ।


कार्यक्रममा संस्थाका उपाध्यक्ष प्रा.डा. ऋदिशकुमार पोखरेल, संस्थाको सदस्यता वितरण उपसमिति संयोजक प्रा.डा. नारायणप्रसाद चापागाईं, संस्थाका सदस्यहरु डा. भोलानाथ ढकाल, नारायण जोशी, श्रीप्रसाद घिमिरे, इन्द्रेश ठाकुर, सीताकुमारी खनाल, राजेश खनाल र सचिवालय प्रतिनिधि नोदनाथ त्रिताल तथा आजीवन सदस्यहरु टङ्क प्रसाद ढुँगाना, विष्णुकुमार कार्की र विकास ढकाल लगायतको सहभागीता रहेको थियो । अभियानमा संस्थाको बारेमा विभिन्न क्षेत्रबाट आउनुहुने दुई सयभन्दा बढी सहभागीहरुले जिज्ञाषा राख्नुभएको थियो भने ३६ जनाभन्दा बढी महानुभावहरुले स्वतःस्फुर्त संस्थाको आजीवन सदस्यता लिनुभएको थियो । सदस्यता प्राप्त गर्ने महानुभावहरुलाई संस्थाका उपाध्यक्ष, उप समिति संयोजक एवम् सदस्यज्यूहरुले सदस्यता प्रमाणपत्र र संस्थाको लोगो प्रदान गर्नुभएको थियो । सञ्जाल विस्तार अभियान दुई दिनसम्म सञ्चालन हुनेछ ।


कार्यक्रममा विज्ञान प्रविधि अध्ययन संस्थान डीनको कार्यालय अन्तरगत पिएच.डी. उपाधि प्राप्त गरिसकेका र उपाधिका लागि अध्ययनरत विद्यार्थी एवम् शोधार्थीहरुले सम्बन्धित विभागहरु अगाडि खुल्ला स्थानमा आ–आफ्नो कार्य प्रगतिको पोस्टर प्रदर्शनी गरेका थिए । उक्त उत्सवमा चार जना अनुसन्धातालाई Best Poster Award पनि प्रदान गरिएकाे थियाे । अवार्ड पाउनेमा फिजिकल समूहबाट रसायनशास्त्र विषयका माया दास, बायाेलेजिकल समूहबाट वनस्पतिशास्त्रका पुष्पराज जाेशी, म्याथम्याटिकल समुहबाट तथ्याङ्कशास्त्र विषयका माधवकुमार भुसाल र अन्य विविध विषायसमूहबाट वातावरणविज्ञानका प्रकाश तिमिल्सिना हुनुहुन्थ्यो ।

प्रदर्शनीको सुपरभाइजर नियुक्त गरी आयोजकले मुल्याँकन गरिरहेको र उत्कृष्ट प्रस्तुती दिने स्कोलरलाई पुरस्कृत गरेको डीन प्रा.डा. विनिल अर्यालले बताउनु भयो । नेपालमै पहिलाे पटक आयाेजना गरिएकाे यस किसिमकाे उत्सवमा २५० जना अनुसन्धाताले पाेस्टरहरु प्रदर्शन गर्नुभएकाे थियो । अनुसन्धान क्षेत्रमा काेषेढुङ्गाे साबित भएकाे यस महाेत्सवमा विश्विविद्यालयका अधिकांश पदाधिकारी लगायत शिक्षक, कर्मचारी, विद्यार्थी र विभिन्न संघ संस्थाका अनुसन्धानमा रुचि राख्नेहरुले अवलाेकन गरेका थिए ।


एलुम्नाई एशोसिएशनका कार्यकारी सदस्यलाई मातृ शोक

Posted by: | Posted on: September 19, 2023

त्रि.वि. एलुम्नाई एशोसिएशन नेपालको यहि भाद्र २९ गते शुक्रवार बसेको बैठकले संस्थाका कार्यकारी समिति सदस्य श्री खुमा धितालकी सासु आमा स्व. द्रोपदा देवी धिताल र सदस्य श्री राजेशकुमार खनालकी ममतामयी आमा स्व. नानीमैया खनालको निधनमा श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समावेना सन्देश पठाउने निर्णय गरेको छ । स्व. द्रोपदा देवी धितालको गत जेठ १६ गते स्वर्गारोहण भएको थियो भने स्व. नानीमैया खनालको गत भाद्र २२ गते स्वर्गारोहण भएको थियो । यस दुखद् घडीमा स्वर्गीय आमाहरुको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै समितिले सदस्य द्वयको परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामनासहित गहिरो समवेदना प्रकट गर्ने निर्णय गरेको हो ।


अन्तर्राष्ट्रिय सेमिनारमा सहकार्य एवम् सहभागितासम्बन्धी सूचना

Posted by: | Posted on: September 12, 2023

आगामी अक्टोवर ३ तारिखदेखि ५ तारिखसम्म हुने अन्तर्राष्ट्रिय सेमिनारमा यस त्रिवि एलुम्नाई एशोसिएशन नेपालको पनि सहकार्य रहेकोले इच्छुक सबैले सहभागिताका लागि अनलाइनबाट फारम भर्नुहुन सूचीत गरिन्छ ।


विश्वविद्यालयको संस्थागत विकासका लागि अर्थमन्त्रीसंग छलफल

Posted by: | Posted on: September 12, 2023

त्रिवि एलुम्नाई एशोसिएशन नेपालले संस्थाको भौतिक संरचना निर्माण र त्रिविलाई गर्न सक्ने योगदानबारे माननीय अर्थमन्त्री डा. प्रकाशशरण महतसँग छलफल गरेको छ । उक्त छलफल कार्यक्रम गत श्रावण २४ गते मन्त्रालयमा भएको हो ।
माननीय अर्थमन्त्री महतले त्रिभुवन विश्वविद्यालयको विकासको लागि एलुम्नाई नेटवर्कको महत्वपूर्ण भुमिका हुन सक्ने र त्यसको लागि बीऊँ पूँजीको रुपमा एलुम्नाईहरुबाट कोष स्थापना गर्न सुझाव दिनुभएको थियो । उहाँले एलुम्नाई कोषको स्थापना गरी विश्वविद्यालयको विकासमा टेवा दिन सकिने र मन्त्रालयको तर्फबाट समेत कोष वृद्धिको लागि यथाशक्य सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष प्रदिपकुमार श्रेष्ठले संस्थाको दीगोपनाको लागि भवन निर्माण लगायत भौतिक संरचना निर्माण गर्नुपर्ने र विश्वविद्यालयलाई समेत सहयोग गर्नुपर्ने भएकोले मन्त्रालयको तर्फबाट सकारात्मक सहयोगको अपेक्षा गरेको बताउनु भयो ।
छलफलमा संस्थाका अध्यक्ष प्रदिपकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष प्रा.डा. सुनीति श्रेष्ठ हाडा, उपाध्यक्ष प्रा.डा. ऋदिशकुमार पोख्रेल, महासचिव डा. धीरज प्रधानाङ्ग, सचिव डा. नन्दकिशोर कुमार, सदस्यहरु प्रा.डा. चन्द्रलाल श्रेष्ठ र नारायण जोशी लगायतको उपस्थिति रहेको थियो ।